शर्मिला तिमल्सिना | दृष्टिकोण | भदौ २१, २०७७
बिहानै चिया लिएर आएकी उनकी श्रीमतीले भनिन्, ‘के अचम्म हो ! आज राती त म आफै मरेको सपना देखें ’ आफु दुई बर्षको हुँदा आमा द्रौपदीलाई गुमाएका र २८ बर्षको हुँदा २२ बर्षकी जेठी श्रीमती गौरीलाई आफ्नै आँखा अगाडी खरानी भएको हेर्न विवस भएका कविवर माधव घिमिरेलाई यो भनाइले भावुक बनायो । उनले तत्कालै चियाको चुस्की सहित गीत लेख्न सुरु गरे र एउटा गीत तयार गरे ः
‘आजै र राती के देखें सपना मै मरी गएको
बतास बिना हाँगाको फूल भुइँ झरी गएको’
इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कंडेलको टोलीसँग आफ्नै घरमा कुरा गर्दै राष्ट्रकवि घिमिरेले यो गीत फुर्ने प्रसङ्ग बारे उल्लेख गर्नु भएको थियो, ‘सपना देख्ने मान्छे, गीत लेख्ने मान्छे, संगीत भर्ने र गीत गाउने मान्छेको राम्रो संयोग मिलेकोले नै त्यो गीत राम्रो बनेको हो ’ लमजुङ जिल्लाको पुस्तुन बाहुनडाँडामा झन्डै १०२ बर्ष अघि जन्मिनु भएका घिमिरेले आफ्नै गाउँ नजिकै सुसाई रहेको मर्स्यांदी नदिलाई पनि यो गीतमा समेट्नु भएकाे छ । नारायण गोपालको सुमधुर स्वरमा सजिएको यो चर्चित वियोगान्त गीतले ‘संसारमा जन्म दिएर इश्वर बैंशमा नमार’ भन्ने सन्देश दिएको छ ।
राष्ट्रकवि घिमिरेसँग सम्बन्धित मृत्यु बारेकै अर्को प्रसङ्ग पनि छ । दुई बर्ष अघि कविवर घिमिरेको सानो आन्द्रामा पानी जमेकाले उपचारको नयाँ दिल्ली स्थित मेदान्त अस्पत्ताल लगिएको थियो । उपचार पछि काठमाण्डौ आउँदा नआउँदै सामाजिक सञ्जालमा राष्ट्रकविको देहावसान भएको अफवाह वा गलत खबर भाइरल हुन पुग्यो । श्रीमती महाकाली घिमिरेले सोही कुरा श्रीमान्लाई सुनाउँदै, ‘तपाईको त आयु बढ्ने भयो’ भन्नस भएको थियो किनकि नेपाली समाजमा आफैं मरेको सपना देख्दा वा कुरो सुन्दा आयु बढ्छ भन्ने कहावत छ । त्यो परिस्थितिले उहाँलाई झन् उर्जा मिलेको थियो र मुस्कुराउदै उहाँले भन्नु भएको थियो, ‘म त भाग्यमानी पो रहेछु । आफुले आफ्नै मृत्यु सुन्न पाएँ ।’
२०७४ सालको असोजमा टेलिभिजनको टफटक कार्यक्रमका लागि दिल भुषण पाठकलाई दिएको अन्तरबार्तामा दीर्घ जीवनको राज सम्बन्धी प्रश्नको जवाफमा घिमिरेले भन्नु भएको थियो, ‘सकारात्मक चिन्तनको उज्याला बिम्व हुन्छन् । मेरो सकारात्मक सोच, सृजनशीलता, मृत्युको चिन्ता नहुने र योगाभ्यासले मद्दत गरेको छ ।’ जेठी श्रीमतीलाई मध्यरातमा जलाए पछि नै मृत्यु देखि डराउन छोडेको उहाँको भनाई थियो । हाम्रो समाजमा कतिपय मान्छेहरु आफ्नो मृत्युको कुरैसम्म गर्दा पनि अनर्थ हुन्छ जस्तो ठान्छन् ।
सय वर्षको जन्मोत्सव भव्यताका साथ मनाउनुभएका घिमिरे काव्य सृजनामै तल्लिन हुदाँहुदै बिरामी भएर ग्रयान्डी अस्पताल भर्ना हुँदा उहाँलाई भेट्न अस्पत्ताल पुगेका प्रधानमन्त्री के पी शर्मा ओलीलाई आफुलाई बचाईदिन आग्रह गर्नु भएको थियो । जति बेला उनी 'ऋतम्भरा' महाकाव्य रचना गरिरहनु भएको छ । त्यसपछि प्रधानमन्त्री ओलीले एउटा सन्देश नै जारी गरेर राष्ट्रकविको योगदानको उच्च सम्मान गर्दै सरकारले उपचारमा सक्दो सहयोग गर्ने बचन दिनु भएको थियो ।
मृत्यु देखि नडराउने भएर नै होला राष्ट्रकविले धेरै बर्ष पहिले आफ्नो मरणको बारेमा गीत लेख्नु भयो । आशिष अविरलको संगीत र कर्ण दासको स्वरमा सावधानी पुर्वक रेकर्ड गरिएको ‘त्यसरी होस् मरण’ बोलको गीतलाई उहाँको मृत्यु पछि बजाउनु भनिएको थियो । आफ्नो १०२ औं जन्मदिन आउन ३५ दिन बाँकी हुँदा २०७७ साल भाद्र २ गते साँझमा लैनचौर स्थित आफ्नै निवासमा राष्ट्रकवि घिमिरेले अन्तिम पटक स्वास फेरेर बिदा हुनु भयव । भोली पल्ट राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा उहाँको अन्त्त्यस्टी गरियो । राष्ट्रकविको इच्छा अनुसार नै मृत्यु पछि त्यो गीत बज्दा सबै आश्चर्यचकित भएका थिए ।
‘हिमालचुली देशमा
दिनको शान्त भेषमा
जसरी गर्छन् बिश्राम
सूर्यको स्वर्ण किरण
त्यसरी होस् मरण ।’
प्रकृति, तराई, पहाड, हिमाल, मर्स्यङदी, दरौदी, कालीगण्डकी, मादल, मुरली, माया प्रेमको महिमा तथा वेदना कविता र गीत मार्फत प्रस्फुटन गरेर कहिल्यै नथाक्ने राष्ट्रकविको बोली बन्द भए पनि उहाँको आवाज हरेक राष्ट्रप्रेमी नेपालीको मन-मुटुमा, धड्कनमा गुन्जीनै रहनेछ ।
‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे
उचाई हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे’
जव जव लिम्पियाधुरा, लिपुलेक र कालापानीको सवाल आउँछ, सिमाना मिचिएको समाचार छाउँछ, राष्ट्रकवि टुप्लुक्क त्यहि आइपुग्नु हुन्छ- रास्ट्रीयता र स्वाधिनताको सन्देश लिएर । भौतिक रुपमा उहाँ हामी विच नरहे पनि हामीसँगै हुनुहुन्छ र पुस्तौं पुस्तासम्म नेपालीको दिलमा हुनुहुनेछ । यही गीतको बारेमा बताउंदै उहाँले भुषण दाहालसँगको अन्तर्वार्तामा भन्नु भएको थियाे, ‘आफ्नो अस्तित्वको लागि अडान चाहिन्छ ।त्यसपछि मात्रै सह-अस्तित्व हुन्छ । तिमीहरु प्रजातन्त्र मात्रै भन्छौ, प्रजातन्त्र चाहिन्छ तर टेक्ने धरातलै गयो भने के अर्थ भो त ?'
२०७५ सालको असोजमा कान्तिपुर टेलिभिजनको एक कार्यक्रममा भुषण दाहालसंगको अन्तर्वार्तामा दिंदै राष्ट्रिय गीत लेखन बारेको एउटा रोचक सन्दर्भ कविवर घिमिरेले बताउनु भएकाे थियो । उहाँले लेखेका ‘खरो राष्ट्रियता’ भएका २ वटा गीत मध्य एउटा चर्चित गीत ‘गाउँछ गीत नेपाली’ रचना गर्दाको प्रसंग र मेहनतलाई ब्यक्त गर्दै घिमिरेले भन्नु भएकाे थियाे, ‘बेसिक तालिमको बेला मास्टरले मलाई स्काउटका लागि एउटा गीत लेखीदिनु पर्यो भने 'मैले २-४ देशका राष्ट्रिय गीत हेरें । तर ६ महिनासम्म पनि लेख्न सकिन । मास्टर निरास भए । अब तिमीबाट हुन्न भने 'पछि एकदिन चट्ट आयो र गीत तयार भयो ।’
‘गाउँछ गीत नेपाली ज्योतिको पंखा उचाली
जय जय जय नेपाल सुन्दर शान्त बिशाल
पश्चिम किल्ला कांगडा पूर्वमा टिष्टा पुगेथ्यौं
कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौं’
राष्ट्रकविले २०१० साल तिर लेख्नु भएको यो गीतलाई बिगतमा कक्षा ४ को नेपाली (महेन्द्रमाला) मा समाबेश गरिएको थियो । हामीले पनि यसलाई पढेका थियौं । यसलाई सुरुमा उस्ताद गोविन्द लालले संगीतबद्ध र तारा देवी र जनार्दन समले स्वर दिनु भएको थियो । हाल राष्ट्रिय गान भन्दा पछि गाइने सबैभन्दा बढी लोकप्रिय राष्ट्रिय गीत यहि नै थियो भन्दा अत्योक्ति हुने छैन । अन्तर्वार्तामा घिमिरेले भन्नु भए झैं ‘राष्ट्रका चार आयाम–भूगोल, इतिहास, संस्कृति र भविष्य’ लाई यो गीतले समेटेको छ । राष्ट्रकविले नै अन्तर्वार्तामा बताए अनुसार उहाँले ‘सुन्दर, शान्त विशाल’ जस्ता शब्दहरु चै महाकवि देवकोटाको एउटा निबन्ध पढेकाले देवकोटासँग अनुमति लिएर नै ति शब्दहरुलाई आफ्नो गीतमा राख्ननु भएकाे रहेछ ।
राष्ट्रकविका गीतहरुमा आफ्नै पाखा पखेरो आगाध माया भेटिन्छ । आफ्नो जन्मभूमिबाट टाढा रहेका समस्त नेपालीहरुलाई बेला बेला सम्झना आइरहेको उहाँको अर्को गीतले भन्छ ः
‘लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो
हिमाचुली मुन्तिर पानी भर्ने पँधेरो’
जनार्दन समको संगीतमा जनार्दन सम, लसमित राई र यशोधा पराजुलीले स्वर भएको स्वदेश गान खासगरेर बिदेशमा बस्ने नेपालीहरु बीच अत्यन्तै लोकप्रिय छ । विदेशमा बस्नेहरुको सामाजिक सञ्जालहरुमा यो गीत निकै भाइरल भएको देखिन्छ । खासमा उहाँले २०१० साल तिर एउटी चेलीले माइती देश छोड्न लाग्दा अनुभव गरेको पिडालाई भित्रै देखी अनुभूति गरेर नै यो गीत लेख्नु भएको रहेछ ।
साहित्यमा अतुलनिय योगदान गर्नु भएका घिमिरेको कालीगण्डकी कविता पनि निकै मार्मिक र कालजयी छ । उहाँले कुनै एउटा अन्तर्वार्तामा कालीगण्डकी र शालिग्रामको महिमा अन्तरास्ट्रिय स्तरमा फैलाउनु पर्छ पनि भन्नु भएको थियाे । उहाँका धेरै रचनामा हिमाल, ज्योति, बत्ति, उज्यालो जस्ता शब्दको प्रयोग पटक पटक भएको देख्न सकिन्छ ।
‘माछापुच्छ्रे गिरि शिखरको पारमा मुक्तिक्षेत्र
बल्छन् बत्ति झलमल जहाँ भुलभुले ताल भित्र
तिम्रो जन्मस्थल छ पहिलो ज्योतिको दिब्य धाम
कालीगङ्गा भनन कसरी कुद्दछ्यौ शालिग्राम ?’
नागानन्द (२००२), शकुन्तला गीति नाटक (२०३७), मालती मंगले (२०४२), बिषकन्या (२०५०), अश्वत्थामा (२०५३), हिमाल पारि हिमाल वारि (२०५४) जस्ता नाटक र गीति नाटकका रचनाकार घिमिरेका शकुन्तला र मालती मंगले गीति नाटक अत्यन्तै चर्चामा रहे । नेपाल प्रज्ञा प्रतिष्ठानमा उपकुलपति हुँदा कलाकारहरुले साह्रै अनुरोध गरेकाले र प्रतिष्ठानले प्रेरणा दिएकाले नै उहाँले मालती मंगले गीति नाटक लेख्नु भएको थियाे । सबैभन्दा अधिकार बिहिन कमारी र कमारोको प्रेम कथा भएको यो गीति नाटक निकै मार्मिक छ ।
‘गीतैले बोलाई दरौदीलाई मर्स्यांदी मिसियो
म केले बोलाउँ मालतीलाई मुरली खोसियो’
नैतिक अनुशासनको पाठ पिताबाट सिक्दै ६ बर्षकै उमेरमा दुर्गा कवज र चण्डी पाठ गरेर धार्मिक साहित्य अध्ययनमा सुरुवाती पाईला चाल्नु भएका घिमिरेले १४ वर्षको उमेरमै 'ज्ञानपुष्प' कविता रचना गर्नु भएको थियो, जुन गोरखापत्रमा छापिएको थियो । दुराडाँडामा १२ वर्षको उमेरमा सामान्य पाठशालामा भर्ना हुनु भएका घिमिरेको १४ बर्ष कै उमेरमा गौरी पोखरेलसंग विवाह भएको थियो । उहाँ १७ वर्षको हुदाँ वि. सं. १९९३ सालमा भागेर काठमाडौ आउनु भयाे र रानीपोखरी स्थित तीनधारा संस्कृत छात्रावासमा दर्शन बिषय लिएर अध्ययन सुरु गर्नु भयो । त्यसपछि मध्यमा (हालको एस्इइ) पढ्न भारत जानु भयो । फेरि नेपाल आएर १९९८ सालमा भाषा अनुवाद परिषदमा जागिर शुरु गर्नु भयो । वि. सं. २००१ मा गोरखापत्रमा सह-सम्पादक भएर काम गर्नुभयाे । त्यतिबेला उहाँको तलव ४० रुपैयाँ थियो । पछि उहाँ नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति भए भने आजीवन सदस्य त छदैनै थिए ।
जेठी श्रीमती गौरीको असामयिक र अकल्पनीय देहावसान पश्चात छोरीहरु शान्ति र कान्तिलाई काखमा राखेर लेखिएको शोक काव्य गौरी (२०१५) लगायत नयाँ नेपाल (२०१३), राजेश्वरी (२०१७), पापिनी आमा (२०३०), राष्ट्र निर्माता (२०३०), पच्चीस बर्षका खण्डकाव्य (२०३९), इन्द्र कुमारी (२०५७), दुर्गा सप्त-शति (२०५९) जस्ता काव्यहरूका सर्जक हुनु हुन्छ कविवर घिमिरे । उहाँका दुईवटा कविता संग्रह (नव मन्जरी (१९९४) र चैत-बैशाख (२०६०), दुई वटा बाल कविता संग्रह- घामपानी (२०१२) र बिजुले र बिजुला (२०६३), गीत संग्रह- किन्नर किन्नरी (२०१७), बाल गीत संग्रह ( सुनापंखी चरी (२०५३), निबन्ध संग्रह- आफ्नो बाँसुरी आफनै गीत (२०४९) र समालोचना-चारु चर्चा (२०५८) तथा अनगिन्ति फुटकर कविताहरु प्रकाशित भएका छन् ।
कविवर घिमिरेले साहित्यमा दिनु भएको अमुल्य योगदानको कदर स्वरूप वि. सं. २०६० साल असोज ७ गते उहाँको जन्मदिनकै बेला पारेर तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाले प्रज्ञा हलमा छन्द शिरामणीको उपाधी प्रदान गर्नु भएको थियाे । त्यस्तै, वि. सं. २०६० सालमा तत्कालिन राजा ज्ञानेन्द्रले राष्टकविको उपाधी प्राप्त भएकाे थियाे । सय वर्षको जन्मोत्सव भव्यताका साथ मनाउनुभएका घिमिरे काव्य सृजनामै तल्लिन हुदाँहुदै बिरामी भएर ग्रयान्डी अस्पताल भर्ना हुँदा उहाँलाई भेट्न अस्पत्ताल पुगेका प्रधानमन्त्री के पी शर्मा ओलीलाई आफुलाई बचाईदिन आग्रह गर्नु भएको थियो । जति बेला उनी 'ऋतम्भरा' महाकाव्य रचना गरिरहनु भएको छ । त्यसपछि प्रधानमन्त्री ओलीले एउटा सन्देश नै जारी गरेर राष्ट्रकविको योगदानको उच्च सम्मान गर्दै सरकारले उपचारमा सक्दो सहयोग गर्ने बचन दिनु भएको थियो ।
राष्ट्रकविको सो महाकाव्य प्रकाशनमा ल्याउने सपना अधुरो रहे पनि आशा गरौँ उहाँले लेखी सकेको जति नै मात्र भए पनि 'ऋतम्भरा' महाकाव्य निकट भविष्यमै प्रकाशित गर्न परिवारजन र प्रज्ञा प्रतिष्ठानको ध्यान जानेछ । एक शताब्दी पार गरी सक्दा पनि साहित्य सिर्जनामा निरन्तर लागीरहने व्यक्ति संसारमै बिरलै होलान् । समस्त नेपालीका लागि मात्र नभई विदेशीका लागि पनि प्रेरणाका स्रोत विशिष्ट साहित्यकार राष्ट्रकवि घिमिरेलाई सादर नमन तथा श्रद्दा सुमन !