तोकिएको काम नगरे प्रअलाई पाँच हजार जरिवाना

तोकिएको काम नगरे प्रअलाई पाँच हजार जरिवाना

लोकसंवाद संवाददाता  |  समाज  |  भदौ २१, २०७७

रुकुम । पहिलोपटक रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले प्रधानाध्यापक परीक्षामार्फत छनोट गरेको छ । छनोट भएका प्रधानाध्यापकले तोकिएको काम गर्न नसकेमा  पाँच हजार रुपैयाँ जरिवानासमेत तिनुपर्ने नियम बनाइएको छ । नगरभित्र रहेका ३७ विद्यालयमध्ये ३० विद्यालयमा  परीक्षामार्फत प्रअ छनोट गरी भदौ २६ गते नियुक्ति दिन लागिएको छ । विद्यालय विकास प्रस्ताव, त्यसको प्रस्तुतीकरण र समूह छलफलका आधारमा प्रअ छनोट गरिएको नगरप्रमुख विशाल शर्माले जानकारी दिनुभयो ।
 
सबै प्रअलाई पाँच वर्षका लागि करार सम्झौता हुने नगरप्रमुख शर्माले जानकारी दिनुभयो । सम्झौताअनुसार न्यूनतम काम नगरे बर्खासीको  बाटो पनि खुलै राखिएको छ । प्रअले साविकको प्रअ भत्ताको २०० प्रतिशत थप भत्ता पाउनेछन् । प्रअ छनोट हुनेमा स्थायी, अस्थायी, राहत तथा करारमा नियुक्त भएकासमेत छन् ।

प्रअले नगरपालिकासित पहिलो चरणमा एक वर्षको करार सम्झौता गर्नेछन् । एक महिना, तीन महिना र एक वर्षमा गर्नुपर्ने काम उक्त सम्झौतामा उल्लेख हुनेछ । हरेक एक महिना, तीन महिना र १२ महिनामा गर्नुपर्ने काम नगरेको खण्डमा प्रअबाट हट्नुपर्ने र पाँच हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने छ । विभिन्न मापदण्डका आधारमा नगरपालिकाले प्रअको कामको मूल्याङ्कन गर्ने छ । मूल्याङ्कनमा कम्तीमा ५० अङ्क ल्याउनुपर्ने छ ।

मूल्याङ्कनका आधारमा ८० प्रतिशत बढी नतिजा ल्याउने प्रअलाई ५० प्रतिशत भत्ता थप हुने छ । नगर शिक्षा नियमावली–२०७४ को दोस्रो संशोधन, २०७७ अनुसार प्रअ नियुक्तिको प्रक्रिया अघि बढाइएको नगरप्रमुख  शर्माले बताउनुभयो । नगर शिक्षा ऐनअनुसार प्रअ छनोट गरिएको भन्दै उहाँले सङ्घीय शिक्षा ऐनअनुसार मापदण्डका आधारमा प्रअको परीक्षा लिइएको जानकारी दिनुभयो ।