जीवन मुकारुङ | साहित्य | भदौ २२, २०७७
ज्यान स्वस्थ थियो । साउन पच्चीस र छब्बीस गते दुई वटा भिडियो खिच्ने तयारी भइसकेको थियो । पच्चीस गतेको काम सकाएर साँझ घर फर्किएँ । ज्यान ठिकै छ । छब्बीस गते बिहान उठेँ, स्वस्थमा केही परिवर्तन आएको महसुस भयो । केही अल्छीपना, कता कता केही नमिलेजस्तो अनुभव भइरहेको थियो । समय तय भइसकेको थियो । सुटिङका लागि गइयो, सुटिङ सुरु गरियो । ज्यान बिस्तारै ओइलिन सुरु भयो । तिर्खा धेरै लाग्न थाल्यो । पानी पिउँदै दुई बजेसम्ममा काम सकाइयो ।
सुटिङ सक्नासाथ अफिस गएँ । दुई दिन खिचेका फुटेजहरू कम्प्युटरमा सारेँ । शरीर झन् गल्दै आयो । केही गर्न मन लागेन । मिटिङ रुममा बाँचेको समय सुतेर बिताएँ । साँझ घर फर्किएँ । खाना खान पटक्कै मन भएन । पानी पिएर सुतेँ । सत्ताइस गते सधैँ झैँ उठ्न सकिनँ, ढिलो उठेँ । खाना खाने प्रयास गरेँ, वाकवाकी लाग्यो, खानै सकिनँ । भिडियो ‘इडिट’ गर्नु थियो । अल्छी मान्दै अफिस गएँ । काम गर्न थालेँ । बिस्तारै सुख्खा खोकी सुरु भयो । हातखुट्टा दुख्न सुरु भयो । उनन्तीस गते बेलुकीसम्म भिडिओको काम सकाउनु पर्ने थियो, जसोतसो सकाएँ । खोकीले झनै च्याप्दै ल्यायो । ज्वरो भने छैन ।
... ... ...
खाना त हेर्नै मन लाग्दैन । पानीको भरमै चलिरहेकाे छ जीवन । साउन तीस गतेबाट खोकीले झनै च्याप्यो । शरीर गलेर पुरै ओइलिए झैँ भयो । अफिस जान सकिनँ, दिनभर सुतेँ । खोकीलेहैरान बनाउँदै ल्यायो । साउन एकतीस गते बिहान खोकी झनै बढ्यो । सातदोबाटोको सुवास पोली क्लिनिक गएँ । आफ्नो समस्या बताएँ । औषधि लिएँ र खाएँ । अलि निको होला भन्यो; औषधीले कामै गरेन । समस्या ज्युँका त्युँ । निमोनिया हुन सक्छ, अब डाक्टरसँग परामर्श लिनु पर्छ भन्ने सोच आयो । साउन बत्तीस गते उही क्लिनिकमा फोनबाट ‘अपोइन्टमेन्ट’ मागेर साँझ पाँच बजे गएँ । डाक्टर आशिष श्रेष्ठसँग आफ्ना समस्याहरू बिसाएँ । रगत जाँचियो, एकस-रे गरियो । नभन्दै निमोनिया देखियो ।
दश गते अक्सिजन लिनबाट म मुक्त भएँ । निमोनिया क्लियर भयो, तीन दिन आइसियुमै ‘अब्जरभेसन’मा बसेँ । तेह्र गते नर्मल वार्डमा सरेँ । नर्मल वार्डमा त धेरै थिए तर सबै तन्दुरुस्त । लक्षण देखा नपरेकाहरू । कोही चौध दिन, कोही उन्नाइस दिन भइसकेका तर अहिलेसम्म कुनै बिमार नलागेकाहरू प्रायः सबै चेक गराउँदा भने पोजेटिभ देखिएकाहरू रहेछन् । कोभिड–१९ का बारे धेरै कुराहरू सुनिए । मैले स्वयं भोगेँ ।
डाक्टर आशिषले पाटन अस्पताल गएर चेक गराउन सुझाउनु भयो । साँझ परिसकेको थियो । मैले ‘भोलि जाँदा हुन्छ कि !’ भन्ने कुरो राखेँ । उहाँले ‘हुन्न, ढिलो हुन्छ । आजै जानुहोस्’, भन्नुभयो । म तुरुन्तै पाटन अस्पताल तर्फ हान्निएँ । स्वाप दिएँ । तीन दिनमा रिजल्ट आउने बताइयो । श्वास–प्रश्वासमा खासै समस्या थिएन । म घर फर्किएँ । औषधि सेवन निरन्तर छ । खोकी उस्तै छ । शरीर झन्झन् शिथिल बन्दै आइरहेको छ । पिसिआरको रिजल्टको पर्खाइमा छु । ममा कन्फिडेन्स छ कि मलाई कोरोना लागेकै छैन, रिजल्ट नेगेटिभ आउँछ । डाक्टर आशिषले मलाई निगरानी गरिरहनु भएको रहेछ ।
क्लिनिकबाट मेरो स्वास्थ्य अवस्था बुझ्न निरन्तर फोन आइरह्यो, मैले जानकारी गराइरहेँ । बिरामले च्याप्दै छ । यसरी नै भदौ दुई गते एक बजेतिर क्लिनिकबाट फोन आयो । डाक्टर आशिषले पिसिआर टेस्टको एसी नम्बर माग्नुभयो । मैल टिपाएँ । त्यही दिन चार बजे फोन आयो, जनस्वास्थ्य मन्त्रालयबाट रहेछ । ‘तपाईँको पिसिआर पोजेटिभ देखियो । न आत्तिनु, चौध दिन घरमै क्वारेनटाइन बस्नू ! गाह्रो भयो भने यही नम्बरमा फोन गर्नू !’ यति भनेर फोन काटियो ।
अलिअलि मान्छेमा 'फोबिया' हुन्छ नै । नसोचेको रिजल्ट आएपछि अत्तालिनु स्वाभाविकै थियो । अब के गरूँ ? गम्भीर रूपमा सोच्न बाध्य भएँ । नेपालको कोरोना अपडेट हेरेँ । मृत्यु हुने सन्ताउन्न जना, सङ्क्रमित अट्ठाइस हजार प्लस छ । यसमा म एक जना थपिएँ । निको भएका सोह्र हजार प्लस । यसमा अब जसरी हुन्छ, म जोडिनु पर्छ । आत्मबल बढाएँ, तर अन्योलमा परे हस्पिटल जाऊ या घरमै बसौँ ।
... ... ...
क्लिनिकबाट फोन आयो । डाक्टर आशिषले पाटन अस्पतालमा बेड नभएको कारण मेरो लागि टेकुमा ‘आइसियु रुम बुक गरिसक्नु भएको रहेछ । एम्बुलेन्स भनिसक्नु भएको रहेछ । डा. आशिषले भनेबमोजिम म तयार भएर बसेँ । डाक्टर आशिसलाई मेरो स्वास्थ्य अवस्था नाजुक भैसकेको कुरा थाहा भइसकेको रहेछ । उहाँप्रति आजीवन ऋणी छु । एम्बुलेन्स आयो । टेकु अस्पताल पुगियो । एक्स-रे भयो । त्यसपछि सिधै ‘आइसियु सेक्टर ब्लक सी, बेड नम्बर चौध’मा मलाई सुताइयो ।
जिन्दगीमै बिरामी भएर पहिलो पल्ट अस्पताल बसाइ परेको छ । मन अतालिएको छ । डाक्टर आए, चेकअप गरे । त्यसपछि अक्सिजन दिन थालियो । स्लाइनबाट एन्टिबायोटिक । रातको दश बजिसकेको थियो । वार्डमा जम्मा तीन जना थिए । दुई जना महिला र एक जना पुरुष । म थपिएपछि चार जना भयौँ । तीन जनालाई नियालेँ, दुई जना मस्त सुतिरहेका छन् । एक जना मभन्दा धेरै सिकिस्त थिए । आफ्नो लगातारको खोकी, त्यसमाथि त्यहाँ भएको कम्प्युटर सिस्टमका मेसिनहरूको टाँटाँटुटुको आवाजले निदाउन सकिने कुरै भएन ।
... ... ...
उज्यालो भयो । बिहानको नास्ता दूध, बिस्कुट आइपुग्यो । दूध जबरजस्ती पिएँ । अरु त खानै मन लागे पो ! बिहानको दश बजे खाना आयो । दुई चम्चा खाएँ, घाँटीबाट छिर्दै छिर्दैन । यता, अस्पतालमा आफ्नो स्थिति त्यस्तो छ, उता जीवन मुकारुङलाई कोरोना लाग्यो भन्ने थाहा पाएपछि नख्खीपोटमा भूईंचालो नै गएछ । सधैँ चिया खाने पसलदेखि सँगै बस्ने साथीहरूलाई खाना रुच्नै छाडेछ, निन्द्रा लाग्नै छाडेछ । फोन आउन सुरु भइहाल्यो । प्रायःले सोधे, ‘साइन एन्ड सिम्टम कस्तो हुन्छ ? केहीले सोधे, ‘कहाँ लाग्यो ‘अब कहाँ लाग्यो भन्नु ? नाकबाट छिरेर फोक्सोमा लाग्यो भन्नु कि कहाँ लाग्यो लाग्यो भन्नु ? वाक्कै भयो । त्यसपछि त कतिपय फोन उठाउनै छाडिदिएँ । दिनहरू बित्दै गए, औषधिले काम गर्दै ल्यायो । खाना पनि अलिअलि रुच्न थाल्यो ।
अस्पतालको व्यवस्थापकीय पक्ष राम्रो लाग्यो । सिसिटिभीमार्फत् बिरामीहरूको निगरानी गरिने रहेछ । केही भयो कि ड्युटीवाला स्टाफ आइहाल्ने रहेछन् । समय भयो कि राउन्ड लगाउने, हरेक राउन्डमा ‘चिन्ता नलिनुहोस्, केही हुन्न, सुत्नुहोस्’ भनेर जान्थे । हरेक दिन डाक्टर अनुप बास्तोलाको नेतृत्वमा डाक्टरहरू दिनको बाह्र बजे भिजिटमा आउनु हुन्थ्यो । डाक्टर अनुप अति ‘फ्रेन्ड्ली’ आफै औषधि भएर आउनुहुन्थ्यो । बिरामीहरूसँग परामर्श गर्नुहुन्थ्यो । यी यी कुराहरू सुधारिँदै छ, यतिसम्ममा निको हुन्छ भन्नुहुन्थ्यो । धाप मार्दै बलियो ढाडस दिएर जानुहुन्थ्यो । उसै गरी त्यहाँका सिस्टर (नर्स)हरू उत्तिकै ‘फ्रेण्ड्ली’, उहाँहरू औषधि लिएर आउनु हुँदा आफ्नै घरका चेलीहरू आए झैँ लाग्थ्यो । उहाँहरू आफ्नो जिम्मेवारी र मनको असाध्यै धनी हुनुहुन्थ्यो ।
मेरो स्वास्थ्यमा सुधार आउन थाल्यो । सात गते एउटा समाचार आयो कि बानेश्वरमा डाक्टर र नर्सहरू बस्ने होस्टेलमा त्यहाँका स्थानीयहरूले (नेतृत्व गर्ने मान्छेको नाम भुलेँ) सङ्क्रमण फैलिन्छ, तुरुन्त खाली गर्नुपर्ने मागसहित घेरा लाए । मलाई असाध्य रुन मन भयो । किन यस्तो गैर जिम्मेवार हर्कत गरिरहेछन् मान्छेहरू ?
के हामीले निर्माण गरेको समाज यस्तै हो ? हामी कहिले सज्जन नागरिक बन्ने ? यस्ता अमानवीय व्यवहारबाट हामीले कहिले मुक्ति पाउने ? के स्वास्थ्यकर्मीहरू मान्छे होइनन्, उनीहरूको परिवार छैन ? के उनीहरूमा पनि सङ्क्रमण सर्छ भन्ने डर छैन ? उनीहरूले भोलि सङ्क्रमण मेरो परिवारमा सर्छ, त्यसैले अस्पताल आउन सक्दैनौँ, भनिदिए भने के हुन्छ ? यस्तो बेला त स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहन पो गर्नुपर्ने ? दिन के हो, रात के हो, आफ्नो ज्यानलाई हत्केलामा राखेर चौबीसै घण्टा मान्छे बचाउन खटिरहेका छन्, बचाइरहेका छन् । यस्तो कुराहरूको मनन हाम्रो समाजले किन गर्दैन ? यस्तै कुराहरू मनभरि खेले ।
... ... ...
दश गते अक्सिजन लिनबाट म मुक्त भएँ । निमोनिया क्लियर भयो, तीन दिन आइसियुमै ‘अब्जरभेसन’मा बसेँ । तेह्र गते नर्मल वार्डमा सरेँ । नर्मल वार्डमा त धेरै थिए तर सबै तन्दुरुस्त । लक्षण देखा नपरेकाहरू । कोही चौध दिन, कोही उन्नाइस दिन भइसकेका तर अहिलेसम्म कुनै बिमार नलागेकाहरू प्रायः सबै चेक गराउँदा भने पोजेटिभ देखिएकाहरू रहेछन् । कोभिड–१९ का बारे धेरै कुराहरू सुनिए । मैले स्वयं भोगेँ । मलाई लाग्छ, यो भाइरस इम्युनिटी सिस्टम बलियो हुनेलाई सामान्य रुघाखोकी जति पनि होइन । तर, जो दीर्घ रोगी छ, उसका लागि भने घातक नै हो । यसबाट बच्नको लागि सरकार र विज्ञहरूले सुझाएका सूत्रहरूलाई आत्म शक्तिका साथ अवलम्बन गरियो भने भाइरस सर्ने चान्स न्यून रहन्छ ।
... ... ...
चौध गते मेरो स्वाप लिइयो । पन्ध्र गते ‘नेगेटिभ रिजल्ट’ आयो । म घर फर्किएँ । अहिले एक हप्ते ‘आइसोलेसन’ मा बसिरहेको छु । एघार दिन ‘आइसियु’ तीन दिन ‘जनरल वार्ड’ गरेर चौध दिनमा मेरो लागि अस्पतालमा एक लाखभन्दा बढीकै बिल उठेको होला । यो सबै सरकारले जिम्मा लियो । मेरो तर्फबाट नेपाल सरकारलाई विशेष धन्यवाद छ ! मेरो उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूप्रति कृतज्ञता प्रकट गर्दछु !