फुकुसिमा न्युक्लियर प्लान्ट : जापानले समुद्रमा छाड्ने पानी रेडियोएक्टिभ कति घातक ?

फुकुसिमा न्युक्लियर प्लान्ट : जापानले समुद्रमा छाड्ने पानी रेडियोएक्टिभ कति घातक ?

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ ८, २०८०

जापानले फुकुसिमा दाइची आणविक प्लान्ट चिस्याउन प्रयोग गरेको रेडियोएक्टिभ पदार्थ मिसिएको पानी प्रशान्त महासागरमा फ्याँक्न सुरु गरेको छ ।

दक्षिण कोरिया, चीन, अस्ट्रेलियासहितका देशको विरोधकाबीच जापानले पानी फाल्ने क्रम सुरु गरेको हो । गत महिना संयुक्त राष्ट्रसंघीय इन्टरनेसनल एटोमिक इनर्जी एजेन्सी (आइएइए) ले रेडियोएक्टिभ पानीलाई सफा गरिएको भन्दै समुद्रमा फाल्न अनुमति दिएपछि जापानले वर्षौदेखि भण्डारण गरी राखेको १३३ करोड लिटर पानी समुद्रमा फाल्ने प्रक्रिया बिहीबारदेखि सुरु गरेको हो । 

आइएइएका प्रतिनिधिले रेडियोएक्टिभ पानी सफा गरिएको र सुरक्षा मापदण्ड अनुसारकै भएकाले समुद्रमा फ्याँक्न सकिने निर्णय दिएको थियो । तर जापानमै प्रशान्त महासागरको तटीय इलाकामा क्षेत्रमा बसोबास गर्ने मानिसदेखि चीन, दक्षिण कोरिया, अस्ट्रेलियालगायतका प्रशान्त क्षेत्रका देशले यसको विरोध गर्दै आएका छन् । जापानले परमाणु रिएक्टर चिस्याउन प्रयोग गरेको १३३ करोड लिटर पानी पूर्ण रुपमा फालिसक्न ३० वर्ष लाग्नेछ । पहिलो दिन बिहीबार २ लाख लिटर पानी समुद्रमा फालिएको छ भने विस्तारै अब यो मात्रा बढाएर ४ लााख ६० हजार लिटर बनाइनेछ । 

१२ वर्षअघि सन् २०११ को मार्चमा आएको शक्तिशाली भूकम्प र सुनामीका कारण जापानको फुकुसिमाको आणविक संयन्त्रमा ठूलो क्षति पुगेको थियो । भूकम्पका कारण परमाणु संयन्त्र चिस्याउने र विद्युत उत्पादन प्रणाली नै ध्वस्त हुन पुगेको थियो । यो पानीमा ६४ प्रकारका रेडियोएक्टिम पदार्थ घुलेका छन् । जसमा कार्बन–१४, आयोडिन–१३१, सिजियम–१३७, स्ट्रोनटियम–९०, कोबाल्ट, हाइड्रोजन–३ र ट्राइटियम जस्ता पदार्थ छन् । जुन मानिसका लागि निकै घातक मानिएको छ । ट्राइटियम मानिसको शरीरमा प्रवेश गरेमा क्यान्सर रोग समेत लाग्न सक्छ । 

अत्यधिक तातोका कारण त्यहाँ रहेका तीनवटा रिएक्टरको कोर पग्लिँदा ठूलो मात्रामा विकीरण फैलिएको थियो । जापानले परमाणु केन्द्रबाट सन् २०२१ मै पानी समुद्रमा छाड्ने घोषणा गरेको थियो । तर त्यसमा रहेको हानिकारक रसायनको त्रासका कारण पटक पटक विरोध हुँदै आएको छ भने जापानले पानी शुद्ध बनाएको दाबी गर्दै आएको छ । 

सन् १९७१ मा निर्माण सम्पन्न भएको फुकुसिमा आणविक प्लान्टमा ६ वटा जनरल इलेक्ट्रिक वाटर बोइलिङ वाटर रियक्टर थिए । जसबाट ४.७ गिगावाट विजुली उत्पादन हुन्थ्यो । फुकुसिमा आणविक प्लान्टले ८ रेक्टरसम्मको भूकम्प धान्न सक्थ्यो । तर ११ मार्च, सन् २०११ मा आएको ९.१ म्याग्निच्युडको भूकम्पका कारण प्लान्टमा क्षति पुग्यो । अत्यधिक तातोका कारण त्यहाँ रहेका तीनवटा रिएक्टरको कोर पग्लिँदा ठूलो मात्रामा विकीरण फैलिएको थियो । जापानले परमाणु केन्द्रबाट सन् २०२१ मै पानी समुद्रमा छाड्ने घोषणा गरेको थियो । तर त्यसमा रहेको हानिकारक रसायनको त्रासका कारण पटक पटक विरोध हुँदै आएको छ भने जापानले पानी शुद्ध बनाएको दाबी गर्दै आएको छ । 

आईएईएले निरीक्षण गरेपछि प्लान्टको हेरचाह गरिरहेको कम्पनी टेप्कोले पानी छाड्न स्वीकृति पाएको हो । टेप्कोका अनुसार प्रशोधन गरेर शुद्ध गरिएको पानी १ हजार ट्यांकमा भरेर राखिएको छ । जुन पानी समुद्रको किनारबाट एक किलोमिटर लामो पाइपबाट समुद्रमा छाड्न सुरु गरिएको हो ।

जापानले समुद्रमा छाड्नुअघि पानी प्रशोधन गरेर शुद्ध पारिएको दाबी गरेपनि अझै रेडियोएक्टिभ पदार्थ ट्रिटियमका कणहरू छन् । जसले क्यान्सर समेत निम्त्याउन सक्छ । न्यूयोर्क टाइम्सका अनुसार सन् १९४० को दशकमा अमेरिका, बेलायत र फ्रान्स जस्ता देशहरूले दक्षिण प्रशान्त क्षेत्रमा धेरै परमाणु परीक्षण गरेका थिए । यसको मार अझै पनि मार्शल टापुमा बस्ने मानिसहरूले भोगिरहेका छन् । तर, आणविक परीक्षणका लागि प्रयोग गरिने पानी र समुद्रमा आणविक रिएक्टरलाई चिसो पार्ने पानीबीचमा फरक छ । यद्यपि, यसले प्रभाव पार्नसक्ने सम्भावना रहन्छ । सन् २०११ को सुनामीपछि, दक्षिण कोरियाजस्ता धेरै देशले सुरक्षाको कारण देखाउँदै फुकुसिमाबाट समुद्री खाना र अन्य खाद्य वस्तुहरूको आयातमा प्रतिबन्ध लगाएका थिए ।