गण्डकी प्रदेश सरकार : घरेलु मदिराको ‘ब्रान्डिङ’का लागि कानुन ल्याउने तयारी

गण्डकी प्रदेश सरकार : घरेलु मदिराको ‘ब्रान्डिङ’का लागि कानुन ल्याउने तयारी

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १०, २०८०

कास्की । लुकीछिपी उत्पादन र बिक्री वितरण भइरहेको घरेलु मदिरालाई वैध बनाउन गण्डकी प्रदेश सरकारले कानुन निर्माणको प्रक्रिया थालेको छ ।

सोसम्बन्धी विधेयकको मस्यौदालाई प्रदेशसभाको आगामी हिउँदे अधिवेशनमा पेस गर्ने प्रदेश सरकारको तयारी छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता दिनेश प्रकाश अर्यालले घरेलु मदिराको ‘ब्रान्डिङ’का लागि कानुन ल्याउन लागिएको बताउनुभयो । 'विधेयक प्रस्तावका लागि आर्थिक मामिला मन्त्रालयले स्वीकृत दिइसकेको छ', उहाँले भन्नुभयो, 'कानुन मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सैद्धान्तिक सहमति आएपछि मस्यौदाको काम अगाडि बढ्छ ।'

 मापदण्ड र गुणस्तर तय गरेर घरेलु मदिराको व्यावसायिक उत्पादनलाई खुला गर्न कानुनी प्रबन्ध गर्न लागिएको प्रवक्ता अर्यालले बताउनुभयो । सङ्घीय कानुनसँग नबाझिने गरी विधेयक ल्याउन आर्थिक मामिला मन्त्रालयले स्वीकृति प्रदान गरेको उहाँको भनाइ छ । 'घरेलु मदिरालाई वैधानिकता दिने विषय प्रदेश सरकारको प्राथमिकतामा छ', प्रवक्ता अर्यालले भन्नुभयो, 'उद्योगका रूपमा लैजाने कि र घरघरै बनाउन अनुमति दिने भन्नेमा अझै मतैक्य भने हुनसकेको छैन, मुख्यमन्त्री र मन्त्री सबैतिर खुला गर्ने सोचमा हुनुहुन्छ, कतिपयको उद्योग खोलेर व्यवस्थित गर्नुपर्ने धारणा छ ।'

 परम्परागतरूपमा घरघरमा बनाइँदै आएको मदिरालाई एकसाथ वैध घोषणा गर्दा गुणस्तर सुनिश्चितताको समस्या आउन सक्ने उहाँको भनाइ छ ।'“गुणस्तर कायम गर्ने र नियमन गर्ने विषय जटिल छ', उहाँले भन्नुभयो, 'मदिरासँग सम्बन्धित विषय भएकाले राम्रो सुझबुझसहित सरकारले कानुन बनाउनुपर्ने अवस्था छ ।” प्रदेश सरकारले घरेलु मदिराको ‘ब्राण्डिङ’ र बजारीकरणलाई आफ्नो वार्षिक नीति तथा कार्यक्रममा पनि समेटेको छ । मुख्यमन्त्रीलगायत विभागीय मन्त्रीले पटकपटक घरेलु मदिरालाई ‘ब्राण्डिङ’ गरेर कानुनी मान्यता दिने बताउँदै आउनुभएको छ ।

पछिल्लो समय प्रदेश र स्थानीय तहले घरेलु मदिरालाई वैधानिकता दिनुपर्ने आवाज उठाउँदै आएका छन् । सर्वोच्च अदालतले केही वर्षअघि संस्कारजन्य कार्यका लागि एक परिवारले वर्षमा ३० लिटरसम्म उत्पादन गर्न पाउने फैसला गरे पनि व्यावसायिक उत्पादन र बिक्री वितरणका लागि घरेलु मदिरा बर्जित छ । मदिरा ऐन, २०३१ ले पनि घरेलु मदिरालाई वैधानिक मान्यता दिएको छैन । सोही ऐनमा टेकेर प्रहरीले बेलाबेला घरेलु मदिरा नष्ट गर्ने अभियान नै चलाउँछ । जनजाति समुदायको संस्कृतिसँग गाँसिएको र कतिपयको आयआर्जनको माध्यम बनेको घरेलु मदिरा जफत गरेको भन्दै प्रहरीकै आलोचना हुने गर्छ ।

वैज्ञानिक विधिबाट गुणस्तरीय घरेलु मदिरा उत्पादन र बजारीकरण गर्न सके राज्यलाई ठूलो आर्थिक लाभ मिल्ने गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा डा नवराज देवकोटाले बताउनुभयो । विश्वविद्यालयले गरेको घरेलु मदिरा बनाउन प्रयोग हुने मर्चाको गुणस्तर निर्धारण अनुसन्धान सफल भएको उहाँको भनाइ छ । प्रदेशका ११ वटै जिल्लाबाट रक्सी बनाउने विधिको अध्ययनसहित मर्चा सङ्कलन गरेर रासायनिक विश्लेषण गरिएको उपकुलपति प्रा डा देवकोटाले बताउनुभयो । मर्चाको मापदण्ड र गुणस्तर कायम गरेर घरेलु मदिरालाई सुरक्षित बनाउन सकिने आधार अनुसन्धानबाट देखिएको उहाँको भनाइ छ ।