राष्ट्रिय बाल नाटक मेलाको तयारी :फागुन १८ गतेदेखि सुरु हुँदै

राष्ट्रिय बाल नाटक मेलाको तयारी :फागुन १८ गतेदेखि सुरु हुँदै

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  फाल्गुन १७, २०८०

काठमाडौं । बालबालिकामा अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित राष्ट्रिय बाल नाटक मेलाको दोश्रो संस्करण यही फागुन १८ गतेदेखि हुने भएको छ । नाट्यकर्मी महासंघ नेपालको आयोजनामा हुन गइरहेको बाल नाटक मेलाको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

२ महिना अगाडीबाट देशभरबाट आएका नाटकहरु मध्ये उत्कृष्ट नाटकहरु छनौट गरी फाइनल चरणका नाटकहरु छनौट गरिएको आयोजक नाट्यकर्मी महासंघका केन्द्रीय अध्यक्ष राजेन्द्र रिमालले बताए । ‘दोश्रो चरणको बाल नाटक मेलाको सम्पूर्ण तयारी पुरा भएको छ । हामीले देशभर खुल्ला आब्हान गरी नाटकहरु माग गरेकोमा उत्कृष्ट ११ वटा नाटक फाइनलका लागि छनौट गरेका छौं ।’ अध्यक्ष रिमालले भने । विद्यालय स्तरबाटै बालबालिकाहरुलाई नाट्य क्षेत्रमा अग्रसर हुन प्रेरित गर्ने उद्देश्यले बाल नाटक मेला हुन लागेको हो ।

मेलामा कक्षा ८ देखि माथि अध्ययनरत विद्यार्थीहरुले नाटक मञ्चन गर्नेछन् । नाटक मञ्चनको निर्णायकहरुमा निर्देशक राजेन्द्र शलभ, चर्चित टेलिश्रृंखला ‘अबिरल बग्दछ इन्द्रावती’का निर्देशक बद्री अधिकारी, अभिनेत्री सरिता गिरी रहेका छन् । फागुन २७ गतेसम्म चल्ने मेलामा थिएटर र नेपाली चलचित्र क्षेत्रका कलाकारहरुको समेत सहभागिता रहने आयोजक नाट्यकर्मी महासंघका महासचिब जे.बी. डिसीले जनाए ।  

नीजि तथा आवासिय विद्यालयहरुको संगठन प्याब्सन नेपाल, सांस्कृतिक संस्थान सँगको सहकार्यमा हुन गइरहेको बाल नाटक मेलाको प्रायोजकमा सुजल फुड र नेपाल टेलिकम रहेका छन् । आलिशान फर्निचर, क्याम्ब्रिज काठमाडौं, नेपाल मेडिकल कलेज, फरवार्ड नेपाल, सह–प्रायोजक रहेको कार्यक्रमलाई नेपाल एयरलायन्स, एभरेष्ट बैंक, वाईबी सलुसन प्रा.लि. र नेपाल आयल निगमको समेत सहयोग रहेको छ ।

प्रतियोगिताको विजेता नाटकलाई नगद १ लाख रुपैंया, ट्रफी, प्रमाण–पत्र दिइने छ भने विजयी नाटकलाई अन्तराष्ट्रियस्तरको प्रतियोगितामा सहभागिताका लागि पठाइने छ । प्रतियोगितामा ११ वटा शिर्षकमा उत्कृष्ट प्रतियोगीहरुलाई नगद पुरस्कार, प्रमाणपत्र र ट्रफी दिइने छ ।

कार्यक्रम स्थलमा नेपाल टेलिकमले निःशुल्क सिम वितरण गर्ने तथा नेपाल मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गर्नेछ । कार्यक्रममा काठमाडौं, भक्तपुर, ललितपुरसँगै देशका विभिन्न विद्यालयका बालबालिकाहरु, शिक्षक, अभिभावकको प्रत्यक्ष सहभागिता रहने जनाइएको छ ।