अमेरिका टेक्सासको राजधानी अस्टिनमा पशुपति नाथको मन्दिर निर्माण !

अमेरिका टेक्सासको राजधानी अस्टिनमा पशुपति नाथको मन्दिर निर्माण !

शंकर थापा  |  समाचार  |  फाल्गुन १७, २०८०

अमेरिका ।  नेपाली समुदायको बाक्लो वसोवास रहेको टेक्सासको राजधानी अस्टिनमा पशुपति नाथको मन्दिर निर्माण गरिएको छ ।

अस्टिनबासी नेपाली समुदायको साझा सँस्था ग्रेटर अस्टिन नेपाली समाजद्वारा करिब ७ लाख डलरको लागतमा उक्त मन्दिर निर्माण गरिएको हो ।

पशुपति नाथ मन्दिरको फोटो बिभिन्न माध्यमबाट सार्बजनिक भएपछि मन्दिर हेर्नेहरूको दैनिक घुइँचाे लाग्ने गरेको छ । मन्दिर निर्माणको काम सम्पन्न भई रँग रोगन गर्ने काम भईरहेको समाजले जनाएको छ ।

अस्टिनबासी नेपाली समुदायको अथक प्रयास र सहयोगबाट पशुपति नाथ मन्दिर निर्माण भएको छ । हामी आगामी मार्च महिनाको ८ तारेखमा महा शिवरात्रि पर्वको अवसरमा भब्य कार्यक्रमको आयोजना गरि मन्दिर निर्माण गर्ने तयारी गरिरहेका छौं, ग्रेटर अस्टिन नेपाली समाज अस्टिनका अध्यक्ष भोजराज भट्टले बताउनु भयो ।

अध्यक्ष भट्टका अनुसार मन्दिर उद्घाटन कार्यक्रममा नेपाली राजदूतावास, अमेरिका स्थित नेपाली समुदायका बिभिन्न संस्थाहरु, नेपाली समुदायका अगुवाहरु लाई निमन्त्रणा पठाउने काम भईरहेको छ । मन्दिर निर्माणको लागि महासचिव विदुर खतिवडा, मन्दिर निर्माण समितिका संयोजक गेहेन्द्र केसी, उप संयोजक देवराज न्यौपाने लगायत ग्रेटर अस्टिन नेपाली समाज अस्टिनका कार्य समितिका पदाधिकारीहरु, सञ्चालक समितिका पदाधिकारीहरु लगायत अस्टिनबासी नेपाली समुदायको उल्लेखनीय सहयोग रहेको भट्टले जानकारी दिनु भयो ।

पशुपति नाथ नेपाली समुदायका आस्थाका केन्द्र हुन । अमेरिकाका बिभिन्न राज्यमा नेपाली समुदायले भगवान पशुपति नाथको मन्दिर निर्माण गरेका छन । तर खुल्ला स्थानमा नेपालको पशुपति नाथ मन्दिरको झल्को दिने अस्टिनमा निर्माण गरिएको पशुपति नाथको मन्दिर पहिलो भएको अध्यक्ष भट्टले दावी गर्नु भयो ।

मन्दिर सञ्चालक समितिका संयोजक गेहेन्द्र केसीका अनुसार पशुपति नाथ मन्दिर निर्माणको लागि मूर्ति, गजुर, काठ, इटा, आँखी झ्याल, नन्दी लगायतका सामग्रीहरु नेपालबाट ल्याएर जडान गरिएको हो । नेपालका चर्चित कालिगड तथा मूर्ति कार चन्दैश्याम डँगोल तथा अस्टिनका मूर्तिकार चन्द्र लिंखाले नन्दी तथा काठमा कला भरेका छन ।

मन्दिर निर्माणको काम सम्पन्न भएपछि मन्दिर परिसरमा धार्मिक कार्यक्रम, भजन कीर्तनको लागि छुट्टै भजन निर्माण गरिने मन्दिर सञ्चालक समितिका संयोजक केसीले बताउनु भयो ।

पछिल्लो समय टेक्सासको अस्टिन नेपाली समुदायको रोजाईको ठाउँ भएको छ । पशुपति नाथ मन्दिरले नेपाली समुदायलाई भावानात्मक रुपमा एकताबद्ध बनाउने अस्टिनबासी नेपालीहरुको बिश्वास रहेको छ । सन २०१३ मा स्थापना भएको ग्रेटर अस्टिन नेपाली समाज अस्टिनले अस्टिन तथा आसपासका क्षेत्रमा बसोवास गर्ने नेपाली समुदायलाई एकताबद्ध बनाउन बिभिन्न कार्यक्रम सन्चालन गरिरहेको छ । यसअघि समाजले मन्दिर नजिकै सामुदायिक भवन समेत निर्माण गरि सन्चालनमा ल्याई सकेको छ ।

हाल ग्रेटर अस्टिन नेपाली समाज अस्टिनले अस्टिनमा ५० हजार डलर भन्दा माथी सहयोग गर्ने एक जना डाईमन्ड ट्रष्टी, २५ हजार डलर भन्दा माथी सहयोग गर्ने २ जना प्लाटनियम ट्रष्टी र करिब १ हजार सदस्यहरु रहेका छन ।