‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ सुरु

‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ सुरु

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  फाल्गुन २१, २०८०

काठमाडौँ  । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा सिर्जनशील कलाकार समूहको सहकार्यमा शनिवारबाट कास्कीस्थित पोखरा आर्ट ग्यालरीमा ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ सुरु भएको छ । प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले उद्घाटन गर्नुभयो । ‘सामाजिक रूपान्तरणः ललितकलाको अभियान’ को भावमा रहेर आयोजना गरिएको यस प्रदर्शनीमा प्रदेशका ७४ कलाकृति समावेश छन् । 

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले सातै प्रदेशमा प्रादेशिक ललितकला आयोजना गर्ने प्रतिष्ठानको योजना सफल भएको बताउनुभयो । उहाँले सातै प्रदेशका उत्कृष्ट कलाकृतिहरू ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा समावेश गर्ने मात्र नभई उत्कृष्ट कलाकृतिलाई पुरस्कृत गर्ने बताउनुभयो ।’
समारोहका सभापति गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ले पहिलो पटक गरिएको प्रादेशिक ललितकला प्रदर्शनीमा सहकार्य गर्ने अवसर पाउँदा आफूहरू खुसी भएको बताउनुभयो ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य एवम् गण्डकी प्रदेश समन्वय समितिका संयोजक सौरगंगा दर्शनधारीले प्रादेशिक ललितकला प्रदर्शनीमा कलाकारहरूको उल्लेख्य सहभागिता भएकोमा खुसीको अनुभूति भएको बताउनुभयो । उहाँले सबैको सहकार्यले यस कार्यक्रम सफल भएको बताउँदै सम्पूर्णप्रति आभार व्यक्त गर्नुभयो । 
गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले यस प्रदर्शनीले युवा कलाकारहरूलाई हौसला प्रदान गर्नुका साथै जीवनभर कलासाधनामा रहनुभएका अग्रज कलाकारहरूको सम्मान पनि एकैसाथ गरेको बताउनुभयो । 

कार्यक्रममा प्राज्ञ राधिका कँडेल, प्राज्ञ बुद्धिबहादुर गुरुङ, प्राज्ञ रमेश श्रेष्ठ, प्राज्ञ कृष्णप्रसाद पौडेल, प्राज्ञ प्रकाश ज्ञवालीका साथै अग्रज कलाकारहरू क्षेत्रलाल कायस्थ, लोकप्रसाद गुरुङ, गोपाल श्रेष्ठ, हरेराम जोजिजूलगायतको उपस्थिति रहेको थियो । प्रदर्शनी २३ गतेसम्म चल्ने छ ।