अरुण गाउँपालिका भाेजपुर: समग्र शिक्षण सिकाइमा सुधार गर्न परीक्षालाई ब्यवस्थित गर्दै

अरुण गाउँपालिका भाेजपुर: समग्र शिक्षण सिकाइमा सुधार गर्न  परीक्षालाई ब्यवस्थित गर्दै

लोकसंवाद संवाददाता  |  शिक्षा  |  फाल्गुन २२, २०८०

भाेजपुर । अरुण गाउँपालिकाको समग्र शिक्षण सिकाइमा सुधार गर्ने अभिप्रायले परीक्षालाई ब्यवस्थित र पालिका केन्द्रित गर्ने निर्णय गरिएको सामाजिक बिकास समितिका  संयोजक कुमार थापाले जानकारी दिनु भएकाे    छ ।

संयोजक थापाका अनुसार  सामुदायिक तथा सरकारी विद्यालय प्रति अभिभावक तथा विद्यार्थीहरुको आकर्षण घट्दै जानु र निजी विद्यालय प्रति को आकर्षण  बढ्दो क्रममा हुनुको  मुख्य कारणको खोजी गरि सोको निराकरण गर्ने  तर्फ समेत गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।

शिक्षामा देखिएका जटिलताहरूलाई समाधान गर्न मुख्यतया विषयगत , कक्षा गत र तहगत रुपमै सिकाइमा सुधार गर्दै जानू पर्ने आजको आवश्यकता बनेको छ ।  हामीले स्थानीय तहबाट नै समाधान गर्न सकिने केही नीतिगत समस्याहरुलाई  आंशिक रुपमा भएपनि समाधान गर्न प्रयास गरिरहेका छौ । 

जनप्रतिनिधि ,शिक्षक,अभिभावक र विद्यार्थीहरुको तहवाट मात्रै यस्ता प्रकारका समस्याको समाधान निकाल्न सकिने ठहर गर्दै सो बारे समेत विभिन्न छलफल र अन्तरक्रिया पनि गरिरहेका छौ ।

अहिले खासगरी परीक्षा प्रणालीमा केही सुधार र ब्यवस्थित गर्न प्रारम्भमा कक्षा ५, ८ , एसइइ पूर्व अभ्यास परीक्षा र ११ लाई पालिका स्तरिय परीक्षा सञ्चालन गर्न आवश्यक प्रबन्ध मिलाईएको छ  भने एसइइ पूर्व अभ्यास परीक्षा हिजो फागुन २१ गतेबाट अरुण गा.प. का सातवटै मा. वि . मा सुरुवात गरिएको समेत संयोजक थापाले जानकारी दिनु भएको  छ ।

परीक्षालाई अनुशासित, मर्यादित , व्यवस्थित र विश्वसनीय वनाउन पालिकाको तर्फवाट हदैसम्मको प्रयासहरु भैरहेका छन् । परिक्षाको पालिकाको शिक्षा समिति , सामाजिक बिकास समिति र वडाबाट अनुगमन , सुपरिवेक्षण भईरहेको छ । सामाजिक विकास समिति, गाउँ शिक्षा समित , गाउँकार्यपालिकाको निर्णय र गाउँपालिका अध्यक्ष शालिकराम खत्रीको निर्देशनमा समग्र गतिविधिहरु निरन्तर अगाडि बढाइएको संयोजक थापाले  जनाउनु  भएको छ ।