बेलायतबाट आयोजना गरिने विश्वव्यापी मापदण्ड अनुसार परीक्षा  मेडिसिटी अस्पतालमा

बेलायतबाट आयोजना गरिने विश्वव्यापी मापदण्ड अनुसार परीक्षा  मेडिसिटी अस्पतालमा

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  फाल्गुन २५, २०८०

काठमाडौँ । नेपालमै पहिलो पटक MRCP UK PACES परीक्षा नेपाल मेडिसिटी अस्पतालमा सम्पन्न भएको  अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार  बेलायतबाट आयोजना गरिने यस परीक्षामा नेपाल मेडिसिटी अस्पताललाई केन्द्र बनाइ परीक्षा सञ्चालन गरिएको हो । परीक्षा फागुन २२, २३ र २४ गते तीन दिनसम्म चलेको थियो ।. Federation of the Royal College of Physicians, UK ले तोकेको विश्वव्यापी मापदण्ड अनुसार परीक्षा सञ्चालन गरिएको हो ।
परीक्षामा ४० जना परीक्षार्थीहरु सहभागी भएका थिए जसमा नेपाल, बंगलादेश, मलेसिया, भारत र टर्कीबाट चिकित्सकहरुको सहभागिता रहेको थियो । त्यस्तै, परीक्षा सञ्चालन गर्न बेलायतबाट पाँच जना र नेपालबाटै १२ जना परीक्षकहरुको उपस्थिति रहेको थियो । 
Federation of the Royal Colleges of Physicians of the United Kingdom   का प्रतिनिधिहरू डा. तन्जीम रजा, डा. डोनाल्ड फारुहार, डा. फियोना क्लार्र्क, डा. सत्यन राजभण्डारी र डा. ग्राहम करी परीक्षा निरीक्षणका लागि आएका हुन् । 

युके पेसिस परीक्षामा डाक्टरको क्लिनिकल विशेषज्ञताको मूल्याङ्कन गर्न तथा विशेषज्ञतालाई थप निखार बनाई सीप परीक्षण गरिन्छ । यो फिजिसियन चिकित्सकहरुको प्रयोगात्मक परीक्षा हो । यसमा भाग लिन पहिले दुईवटा लिखित परीक्षामा उत्तीर्ण हुनुपर्ने पेसेस परीक्षा नेपालका लागि प्रमुख निरीक्षक तथा नेपाल मेडिसिटी अस्पतालका सिनियर कन्सल्टेन्ट डा. नीरज जोशीले बताए । परीक्षामा पाँचवटा स्टेशनहरु राखिएका थिए जसको माध्यमबाट परीक्षार्थीहरूलाई उनीहरूको ज्ञान, क्लिनिकल सीप, बिरामीको स्वायत्तता र सञ्चारको सम्मान गर्ने क्षमताको लागि मूल्याङ्कन गरिएको थियो ।
MRCP UK चिकित्सकहरूको लागि विश्वव्यापी रूपमा मान्यता प्राप्त योग्यता हो । यो योग्यता प्राप्त गर्नाले प्रशिक्षार्थी चिकित्सकले आफ्ना बिरामीहरूलाई उत्कृष्ट योग्य चिकित्सकको रूपमा सेवा गर्न उपयुक्त ज्ञान, सीप र मनोवृत्ति हासिल गरेको प्रमाणित गर्छ । 

यो परीक्षामा उत्तीर्ण भएका चिकित्सकहरुले एमआरसिपी युकेबाट अनुमति पाएका जुनै सुकै अस्पतालमा काम गर्न सक्दछन् ।