रामगीता वाङ्मय मन्दिर : शर्मा, विमल र घिमिरे पुरस्कृत

रामगीता वाङ्मय मन्दिर : शर्मा, विमल र घिमिरे पुरस्कृत

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २०, २०८१

काठमाडौँ ।रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालले तीन स्रष्टालाई एकसाथ पुरस्कृत गरेको छ । मन्दिरले आज काठमाडौँको सर्वनाम नाटकघरमा एक भव्य समारोहको आयोजना गरेर वरिष्ठ नाटककार हरिहर शर्मा, वरिष्ठ साहित्यकार डा। राजेन्द्र विमल र रेडियोकर्मी अच्युत घिमिरे बुलबुललाई सम्मान गरेको हो ।

मन्दिरले शर्मालाई अशेष मल्ल–सावित्री नाट्यकर्म पुरस्कार, विमललाई प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कार र घिमिरेलाई रामगीता प्रोत्साहन पुरस्कार अर्पण गरेको हो । डा। विमललाई उनको भरखरै प्रकाशित कृति ‘सरबरिया टोल’ का लागि सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी क्रमशः ५०–५० र २५ हजार नगदसहित सम्मानपत्र रहेको छ ।

गीता खत्रीको अध्यक्षतामा आयोजित यस समारोहमा वरिष्ट निर्देशक तथा गीतकार यादव खरेल प्रमुख अतिथि हुनुहुन्थ्यो भने मन्दिरका संरक्षक कमलबहादुर खडका र मखमली खडकाको विशेष उपस्थिति थियो । उनीहरूसहित पुरस्कार स्थापित व्यक्तित्वहरू अशेष मल्ल, सावित्री मल्ल कक्षपति र प्रतीक ढकाल तथा पुरस्कार संस्थापक राम खत्री र गीता खत्रीले संयुक्त रूपमा ती पुरस्कारहरू स्रष्टालाई अर्पण गरे । 

अनेसासकी उपाध्यक्ष डा. रेणुका सोलुले उपस्थितलाई स्वागतसहित संस्था र संस्थापक राम-गीताको बारेमा चर्चा गरिन् । पुरस्कार समितिका संयोजक समालोचक महेश पौड्यालले सम्मानीत स्रष्टाको बारेमा चर्चा गरेका थिए ।  

पुरस्कार हस्तान्तरणपछि बोल्दै वरिष्ठ चलचित्रकर्मी यादव खरेलले परम्परागत रूपमा पुरस्कार राख्ने परम्परा भन्दा यो फरक रहेको भन्दै प्रशंसा गरे । स्वनामधन्य व्यक्तित्वको बारेमा पुरस्कार स्थापना गरेर राम–गीताले योगदान पुर्याएको उनले बताए । 

पुरस्कार ग्रहण गरेपछि बोल्दै वरिष्ठ नाट्यकर्मी हरिहर शर्माले अधिकांशले आफ्नै परिवारको र दिवंगत व्यक्तिको नाममा पुरस्कार राख्ने गरे पनि रामगीताले जीवित र विधागत रुपमा सक्रिय, त्यो पनि परिवारभन्दा टाढाका व्यक्तित्वहरूको नाममा पुरस्कार राखेर अनौठो काम गरेको बताए । यो पुरस्कार आफूले पाएकोमा अत्यन्तै गर्व लागेको पनि उनले बताए । रेडियोकर्मी अच्युत घिमिरे बुलबुलले एउटा कुनामा बसेर काम गरिरहेको व्यक्तिलाई बोलाएर पुरस्कार दिएको भन्दै रामगीता वाङमयलाई धन्यवाद ज्ञापन गरे । पुरस्कार प्राप्त गरेपछि दायित्व बढेको अनुभूति भएको पनि उनले बताए । डा। राजेन्द्र विमल भने प्रतिकूल स्वास्थ्यका कारण कार्यक्रममा अनुपस्थित थिए ।

अशेष मल्ल र सावित्री मल्ल कक्षपतिले आफूभन्दा अग्रज हरिहर शर्मालाई आफ्नो नामको पुरस्कार अर्पण गर्न पाउँदा गर्ववान्वित भएको बताए । यो पुरस्कारबाट आफूहरू पनि सम्मानीत भएको उनीहरूको भनाइ थियो ।

प्रतीक ढकालले धेरै काम गरेजस्तो नलागे पनि आफ्नो नाममा पुरस्कार राखिदिएर रामगीताले ठूलो गुन लगाएको बताए । हिमाल अरु कसैले पनि नलखेको विषय भएको र त्यसमा आफूले कलम चलाउँदै आएको उनले बताए । हिमाल विश्वको सम्पत्ति हो भनिरहेको अवस्थामा हिमाल भनेको नेपालको सम्पत्ति हो भनेर लेखिरहेको उनको भनाइ छ । राम खत्री र गीता खत्रीले प्रमुख अतिथि, पुरस्कार स्वीकार गर्नु भएकोमा पुरस्कृत स्रष्टा, पुरस्कार स्थापित व्यक्तित्वहरू र सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे । गीता खत्रीले चार वर्ष अघि नै यो पुरस्कार स्थापना गर्ने सोच आएको र दुई वर्ष अघि स्थापना भएको तथा अहिले पुरस्कार वितरण गर्न सफल भएको बताइन् । अशेष मल्लले अरु अशेष मल्ल जन्माएको र प्रतीक ढकालले नेपालको हिमालको बारेमा लेखेर विश्वलाई परिचित गराएको उहाँहरूको नाममा पुरस्कार स्थापना गरिएको उनले बताइन् । आफूले गरेको कामबाट कहिल्यै पनि घमण्ड नआओस् भन्दै सधैंभरि कर्म गरिरहन पाए आफू खुशी हुने पनि उनले बताइन् । कार्यक्रमलाई भवानी खतिवडाले सञ्चालन गरेकी थिइन् ।